काठमाडौ, ९ असोज। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ)लाई नेपाल र नेपाली जनताको हितमा सदुपयोग गर्न गहिरो चिन्तन आवश्यक रहेको बताउनुभएको छ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (CGTN) को सहकार्यमा नेपाल–चीनमैत्री युवा संघ र फ्रेण्डसीप फोरम फर नेप्लिज जर्नालिष्टले काठमाडौंमा आयोजना गरेको ‘बिआरआई अवसर र चुनौती’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले नेपाल र चीनबीचको भविष्यसँग बिआरआइलाई जोड्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष दाहालले बिआरआइले पूर्वाधार विकास, कनेक्टिभिटी, र आर्थिक सहकार्यलाई बढावा दिने बताउँदै यसले नेपाल र चीन दुवैका लागि महत्वपूर्ण उपलब्धिहरू ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बिआरआइ मार्फत ठूला पूर्वाधार परियोजनामा नेपाल–चीन साझेदारीलाई ऊर्जा, सडक, पुल, र रेल सम्पर्क विस्तारमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
नेकपा (एमाले) का उपाध्यक्ष गुरु बरालले बिआरआइ को उपयोगले देशको आर्थिक अवस्था सुदृढ गर्न, रोजगारी सिर्जना गर्न, र व्यापार घाटा कम गर्न मद्दत गर्ने बताउनुभयो। उहाँले युवाशक्ति लक्षित योजनाहरू चयन गर्नुपर्ने र परियोजना मुलुकको विकासमा सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बिआरआइ पूर्वाधार विकास र सामाजिक आर्थिक रुपान्तरणमा केन्द्रित भएको बताउँदै नेपालमा यसको कार्यान्वयनमा ढिलाइ हुनुको कारण राजनीतिक मतभिन्नता रहेको खुलासा गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले बिआरआइलाई नेपालमा शीघ्र कार्यान्वयन गरी देशको भौतिक पूर्वाधार विकास र आर्थिक सुधारका लागि अवसरको रुपमा लिइनुपर्नेमा जोड दिएका थिए।
बिआरआइ, चीनका राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सुरु गरिएको महत्त्वपूर्ण परियोजना हो, जसले सन् २०१७ मा नेपाल र चीनबीचको द्विपक्षीय सहयोग सम्झौतासँगै नेपालमा प्रवेश पाएको हो।