संविधान संशोधन
माओवादी केन्द्र
#हेटौँडा #काठमाडौं #सडकअवरुद्ध #वैकल्पिकमार्ग #मकवानपुर
#हिक्मतकुमार कार्की
#स्वास्थ्य बिमा
#सुधिर

ओली नेतृत्वको सरकारकाे १०० दिन पूरा : जनताका अपेक्षा अधुरा

काठमाडौं,७ कार्तिक। केपी ओलीको नेतृत्वमा बनेको कांग्रेस एमाले गठबन्धनको सरकारले १०० दिन कटाएको छ । ओली नेतृत्वको सरकारले हनिमुन पिरियड पूरा गर्दैगर्दा उसले सकारात्मक भन्दा नकारात्मक नतिजा हासिल गरेको छ ।
राजनीतिक स्थिरता, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास निर्माण तथा आर्थिक गतिविधिमा तीव्रताजस्ता सपना देखाउँदै दुई ठूला दल कांग्रेस र एमालेले गठबन्धन सरकार बनाएको सय दिन पूरा त भयो तर यसबीचमा सरकारले आम नागरिकमा आशा जगाउने उल्लेख्य काम केही पनि गरेको देखिएको छैन ।
संसदको अंकगणित हिसाब गर्दा हालसम्मको बलियो गठबन्धन देखिएको कांग्रेस–एमालेको सरकारले पनि सुधारको भरपर्दो संकेत देखा नपरेपछि सरकारको कार्यशैलीलाई लिएर विपक्षी दल मात्र होइन, सत्तारूढ दलकै नेताहरूबाट समेत आलोचना भइरहेको छ ।

__________ बिज्ञापन____________

सरकार प्रशासनिक, राजनीतिक, कुटनैतिक  र जनताको पक्षमा काम गर्ने कोणबाट हेर्दा पूर्णत असफल बन्न पुग्यो ।  बाढीपहिरोको विपत्ति आइलाग्दा आपत्कालीन उद्धार र राहतमा सरकार कमजोर देखियो । यतिसम्म कि राजधानी काठमाडौंभित्रै चार घण्टासम्म जस्ताको छानामाथि बसेर उद्धारको याचना गर्दा समेत सरकारले उदासिनता देखाउँदा नागरिकले ज्यान गुमाउनुपर्‍यो । जसले आम नागरिकमा पनि असन्तुष्टि बढेको छ । बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत र यथोचित बसोबासको प्रबन्ध सरकारले अझै मिलाइसकेको छैन । कैयन् परिवारले बगर र त्रिपालमा सकसपूर्ण तरिकाले रात बिताइरहेका छन् ।
असोज दोस्रो साताको बाढीपहिरो र डुबानबाट काठमाडौंसहित विभिन्न जिल्लामा २ सय ३८ जनाले ज्यान गुमाए, १८ जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी गर्न नसकेको तथा राहत उपलब्ध गराउन नसकेको भनेर प्रतिपक्षी दलहरूले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
सरकारको सय दिन पुग्दै गर्दा यसबीचमा  दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको छ । तरकारी वा खाद्यान्न सामग्रीको मूल्य अनियन्त्रित तरिकाले बढ्दा पनि सरकारले प्रभावकारी अनुगमन–नियमन गर्न सकेको छैन ।
पछिल्लो अवधिमा राजस्व छली तथा ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्वा खेपिरहेका भ्रष्ट र विवादास्पद व्यापारी मिनबहादुर गुरूङबाट एमालेको पार्टी कार्यालय निर्माणका दान लिएको घटनाबाट प्रधानमन्त्री पुरै भ्रष्टाचारको संरक्षणमा छन् भन्ने भाष्य निर्माण भएको छ ।  विवादास्पद व्यापारी मीनबहादुर गुरूङबाट जग्गादान लिएर प्रधानमन्त्री ओली एमाले पार्टीभित्रै आलोचित बनेका छन् । त्यो घटना भ्रष्टाचार नै हुने ठहरसहित ट्रान्सपरेन्सी इन्टरनेशनलले विज्ञप्ति र धारणा सार्वजनिक गरिसकेको छ । गुरुङले कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गा मात्रै दिएका छैनन्, एक वर्षभित्र अत्याधुनिक पार्टी कार्यालय बनाइदिने जिम्मा पनि लिएका छन् ।
त्रिभुवन विश्वविद्यालय राजनीतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. रामकृष्ण तिवारी  तमाम बेथितिमा सरकार मूकदर्शकजस्तो देखिएको टिप्पणी गर्छन् । कानुनी शासन, कानुन निर्माण, अनियमितता तथा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह, बजार नियन्त्रणजस्ता अत्यावश्यक विषयमै सरकार चुकेको उनले बताए ।
सरकारले संघीयताको सार्थक कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन अग्रसरता लिएको छैन । संघीय निजामती विधेयक सरकारले संसद्मा पेस गर्न सकेको छैन । प्रदेशमा प्रहरी समायोजन गर्न सरकार उदासीन छ । संविधान र संघीयता कार्यान्वयन गर्न आधारभूत रूपमै संघले १५१ कानुन बनाउनुपर्नेमा अझै ४० कानुन बन्न बाँकी छ । तर सरकारको ध्यान त्यस्ता कानुनभन्दा पनि दल फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गर्नेमा छ । अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले अग्रसरता देखाएपछि अन्य दलले आलोचना गरेका छन् ।
संसद्लाई आवश्यक ‘बिजनेस’ दिन नसकेको सरकारले रास्वपाबाट निर्वाचित उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयाससमेत गरेको थियो । संवैधानिक परिषद्मा सरकार समर्थितको बहुमत नरहेको हुनाले त्यहाँ सत्ता घटक कांग्रेसको प्रतिनिधित्व गराउन चालिएको उक्त प्रयासबाट सरकार सार्वजनिक आलोचनाका कारण पछि हटेको थियो ।
राजदूत नियुक्तिमा योग्यता/क्षमताभन्दा पनि भागबन्डाका आधारमा निकटतालाई रोज्ने पुरानै प्रवृत्तिलाई सरकारले दोहोर्‍याएको छ । राजदूत सिफारिस कति हचुवाका भरमा गरिएको थियो भन्ने शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न नसकेर एक उम्मेदवार संसदीय सुनुवाइ समितिबाट अनुमोदित हुन नसकेको दृष्टान्तले प्रस्ट पार्छ ।
सरकार बनेपछि सरकारले गरेको अर्को महत्त्वपूर्ण प्रतिबद्धतामध्ये कात्तिक १ देखि चीनतर्फका १४ नाकालाई पूर्ण रूपमा खुलाउने र आवागमनका लागि सम्बन्धित जिल्लाका नागरिकलाई बायोमेट्रिक विवरणसहितको पास प्रणाली जारी गर्ने भन्ने थियो । तर हाल सञ्चालनमा रहेका स्थायी प्रकृतिका बाहेक नाका खुलाउन चाहिने भौतिक संरचना र त्यहाँ रहने सरकारी संयन्त्रको व्यवस्थापन पनि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

भारत–चीन व्यापारिक समझदारीबारे समाजवादी मोर्चाको आपत्ति, सीमा विषयमा सरकारलाई कूटनीतिक पहलको आग्रह

लिपुलेक अतिक्रमणविरुद्ध पोखरामा पाँच दलको संयुक्त विरोध प्रदर्शन हुने

इतिहासको छाँयामा बर्तमानको स्वागत : जे एस धिताल

नेकपा (माओवादी केन्द्र) अन्नपूर्ण गाउँ समितिको बैठक सम्पन्न

नेपालको युगान्तकारी परिवर्तनमा प्रचण्डको योगदान

लेनिनवादी संगठनात्मक पद्धति : समाजवादी क्रान्तिको अनुशासित मार्गचित्र

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

प्रचण्डमाथिको प्रहार पार्टीमाथिको प्रहार हो:वर्षमान पुन `अनन्त´