Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

भ्रष्टचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक:नारायणकाजी श्रेष्ठ

भिजिटर संख्या लोड हुदैछ...

स्याङ्जा,२२ कात्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रणका लागि समाजको स्वरूप परिवर्तन अपरिहार्य रहेको बताएका छन्। कात्तिक ९ गतेदेखि गल्याङ नगरपालिका–१ उत्तरबाहिनीमा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले विद्या दान, अन्नदान तथा जीवनदानका लागि ११ करोड अक्षयकोष स्थापना गर्न आयोजित मातापिता पूजन तथा दामोदर महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठले मुलुकको विकासका लागि विभिन्न अभियान सञ्चालन गरेको बताउँदै अबको आवश्यकता व्यक्तिको सोच र व्यवहारमा परिवर्तन ल्याउनु भएको बताए। गृह मन्त्री रहँदा कर्मचारीलाई ध्यान शिविरमा राख्ने र कार्यालयमा दैनिक १५ मिनेट ध्यान अनि अनुशासन अभियान चलाएको स्मरण गर्दै, उनले समाजमा नैतिक मूल्य र सकारात्मक सोचको अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।

श्रेष्ठले नेपालका लागि गौरवको विषय रहेको विभिन्न महान व्यक्तिहरू, शाक्यमुनि बुद्ध, जनक, वाल्मीकि, व्यास, पतञ्जली, अष्टावक्र, र पार्वतीको योगदानको चर्चा गर्दै उनीहरूले विश्वलाई दिएको ज्ञानको संकलन र प्रचार प्रसारले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई थप परिचित गराउन सक्ने विचार राखे।

स्वामी चैतन्य कृष्णको आग्रहमा महोत्सवमा सहभागी श्रेष्ठले धर्मका नाममा भइरहेका रुढीवादी क्रियाकलाप तथा विज्ञान विरोधी प्रवृत्तिले समाजलाई दुष्प्रभावित गरेको भन्दै सचेत रहनुपर्ने बताए। हिमालको काखमा रहेका नेपालमा बुद्धत्व, ज्ञान र सिद्धि प्राप्त गर्न सकिने वातावरण रहेको र यसका लागि केही वैज्ञानिक कारणहरू पनि भएको धारणा व्यक्त गरे।

श्रेष्ठले नेपालमा ध्यान केन्द्रहरूको निर्माणमा आफू र आफ्नो पार्टीको सहयोग रहने प्रतिवद्धता जनाएका छन्।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्