काठमाडौं, १४ मंसिर। हिजो भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्षले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको गम्भीर समीक्षा गर्दै क्रान्तिकारी परिवर्तनको आवश्यकता औंल्याएका छन्।
क्रान्तिकारी पार्टी संयोजक मोहन वैद्य किरणले दलाल नोकरशाही पुँजीवादी राज्यसत्ताको चरम शोषण, उत्पीडन र भ्रष्टाचारका विरुद्ध जनतामा व्यापक असन्तुष्टि बढिरहेको उल्लेख गर्दै परिवर्तनका लागि जनता तयार रहेको बताए। उनले भने, “देशमा भूमण्डलीकृत साम्राज्यवाद, विस्तारवाद, नवउपनिवेशवाद तथा नवउदरवादको हैकम बढदै, दलाल नोकरशाही पुँजीवादी राज्यसत्ताको शोषण–उत्पीडन चर्कदै र दक्षिणपन्थी संशोधनवाद प्रभावी बन्दै गएको वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा आफ्ना विगतका कमी कमजोरीहरुलाई सच्याउँदै संगठन तथा संघर्षका कामहरुलाई अगाडि बढाउँदै जनता सितको सम्बन्धलाई बलियो बनाउँदै मालेमाको रक्षा, प्रयोग तथा विकास गर्दै, सुदृढ तथा अनुशासित पार्टीको निर्माण र क्रान्तिको तयारीको दिशामा अगाडि बढनु अत्यन्तै ठुलो चुनौति हो।”उद्घाटन सत्रमा संयोजक किरणले १० वर्षे जनयुद्धका उपलब्धिहरूको चर्चा गर्दै दक्षिणपन्थी नवसंशोधनवादका कारण जनयुद्धले धक्का खाएको बताए। उनले भने, “जनयुद्धले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता विषय मूलत त्यसै जनयुद्धका आंशिक उपलब्धि हुन।”
संयोजक किरणले पार्टी एकतालाई सुदृढ बनाउँदै पार्टी र क्रान्तिका कामहरूलाई नयाँ ढंगले अगाडि बढाउन आयोजित यस राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्न पाउँदा मलाई निकै प्रसन्नता र गौरवको अनुभूति भएको बताए। उनले यस महाधिवेशनले सही तथा क्रान्तिकारी विचारधारात्मक, राजनीतिक तथा सांगठनिक कार्यदिशा पारित गर्दै क्रान्ति तथा पार्टीका काम अगाडि बढाउन समर्थ केन्द्रीय समितिको निर्माण गर्ने विश्वास व्यक्त गरे।
मंसिर १३ देखी २३ गतेसम्म चल्ने महाधिवेशनले संयोजक वैद्यको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने र त्यस उपर छलफल हुनेछ ।त्यसबाहेक बन्दसत्रमा पार्टीको विचारधारासम्बन्धी १५ वटा दस्तावेज पेश गरिने जनाइएको छ ।
महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । मुख्य नेतृत्वका लागि मोहन बैद्य किरण र महासचिवमा हेमन्तप्रकाश वली, सन्त बहादुर नेपाली,राम सींह श्रीस र हरिभक्त कँडेल दाबेदार रहेको चर्चा छ ।