Skip to content
Janadisha Logo
१७ फाल्गुन २०८२, आईतवार

स्वास्थ्य बीमामा सुधार : अब बसेकै स्थानबाट प्रथम सेवा बिन्दु कायम गर्न सकिने

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, वैशाख १९ गते।अब स्वास्थ्य बीमा गर्नेले आफू बसेकै स्थानमा प्रथम सेवा बिन्दु (first contact point) कायम गरेर सुविधा लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषदले स्वास्थ्य बीमा नियमावली संसोधनलाई स्वीकृति दिएको हो।

नयाँ व्यवस्थाअनुसार, अब नागरिकले बीमा गरेको स्थानबाट अन्यत्र सरे पनि आफू हाल बसोबास गरिरहेको स्थानमा नै प्रथम बिन्दु तोकेर स्वास्थ्य बीमाको सुविधा लिन सक्नेछन्। यसअघि मन्त्री पौडेलले यस्तो सहजता ल्याउने प्रतिबद्धता जनाएका थिए। सोही अनुरूप मन्त्रालयले नियमावली संसोधन प्रस्ताव ल्याएको थियो, जुन बुधबारको मन्त्रिपरिषद बैठकले पारित गरेको हो।

मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा आम नागरिकको पहुँच वृद्धि गर्न संसोधन आवश्यक थियो। यसले बीमालाई बढी व्यवहारिक र सहज बनाउनेछ।”

यो सुधारबाट सिफारिस लिनका लागि बीमा गराएकै स्थानमा पुग्नुपर्ने झन्झट हट्नेछ। साथै, स्वास्थ्य बीमामा आवद्ध धेरै नागरिकले आफू बसेकै ठाउँमा सेवा बिन्दु स्थापना गर्न माग गर्दै आएका थिए।

नियमावली संसोधनसँगै अब सबै स्थानीय तहमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु कायम हुनेछ। पहिले स्वास्थ्य बीमा देशभर विस्तार भए पनि सबै तहमा यस्तो बिन्दु थिएन। अब भने बीमामार्फत आधारभूत सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

स्वास्थ्य बीमाको पहुँच र उपयोग सहज बनाउन यो कदम महत्त्वपूर्ण हुने ठानिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्