Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

देश बिग्रेको छैन, सप्रेको छः डा. भगवान कोइराला

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,६ साउन। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले देश बिग्रेको भन्ने आम भाष्यप्रति असहमति जनाउँदै आफूले देख्दादेख्दै धेरै क्षेत्रमा देशले फड्को मारेको बताएका छन्। पछिल्लो समय व्याप्त नकारात्मकताका बीच उनले देश सप्रिएको दाबी गरेका हुन्।
“पछिल्लो समय नेपाल खत्तमै भयो, सबैतिर बिग्रियो, भत्कियो, कामै केही भएन भन्ने भाष्य सिर्जना भएको छ,” डा. कोइरालाले भने, “युवाको विदेश पलायन र बढ्दो बेरोजगारी जस्ता विषयलाई लिएर गुनासो हुनु स्वाभाविक हो, तर म यो कुरासँग पूर्ण सहमत छैन।”
पोखराको मासवारस्थित मदरल्याण्ड माविले सोमबार एसईई सकेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि आयोजना गरेको कार्यक्रममा डा. कोइराला प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए। तर, उपस्थित हुन नपाएपछि भिडियो सन्देश पठाउँदै उनले भने, “देश बिग्रेको छैन, बरु सप्रेको छ। देश बिग्रियो भनेर भाष्य मात्र बनेको हो। हो, केही ठाउँमा बिग्रेको पनि छ, तर मैले हेर्दाहेर्दै नेपालले ठूलै फड्को मारेको छ। भौतिक संरचना बनेका बनेकै छन्, समग्रमा हामी अघि बढेका छौं।”
उनले देशमा रहेका चुनौतीहरूलाई स्वीकार्दै यहीँ बसेर समाधान खोज्नुपर्नेमा जोड दिए। “नेपालमा केही दुःख र समस्या छन्, सुशासनको विषयमा चुनौती छ। तर, यहीँ बसेर सच्चाउनुपर्छ। बाहिर बसेर देशलाई सरापेर मात्र हुँदैन,” उनले भने। आफ्नो अनुभव सुनाउँदै उनले थपे, “नेपालमा जत्तिको सम्भावना र काम गरेर पहिचान कमाउने ठाउँ अन्यत्र छैन। विदेशमा बस्दा पनि यस्तो पहिचान थिएन।”
विद्यार्थीहरूलाई भविष्यको मार्गनिर्देश गर्दै डा. कोइरालाले कक्षा ११ जीवनको नयाँ र महत्त्वपूर्ण अध्याय भएको बताए। “११ कक्षा तपाईंको भविष्यको जग हो। भविष्यमा कुन विषयमा विशेषज्ञता हासिल गर्ने भन्ने कुरा यही तहमा निर्भर रहन्छ,” उनले भने, “तर, सबै कुरा अहिले नै निर्णय गर्नुपर्छ भन्ने छैन। आफ्नो चाहना बुझेर पछि पेशा परिवर्तन गर्न पनि सकिन्छ।” उनले एसईईपछिको दुई वर्ष गम्भीर अध्ययन, अन्तरक्रिया र नेटवर्किङ विस्तार गर्ने महत्त्वपूर्ण समय भएको सुझाव दिए।
डा. कोइरालाले समाजमा सबै विषयको उत्तिकै महत्त्व हुने बताउँदै संगीत र खेलकुदजस्ता क्षेत्रको महत्त्वलाई पनि कम आँक्न नहुने बताए। “रुचीका साथ पढ्ने हो भने सबै विषयको ज्ञान उत्तिकै जरुरी छ,” उनले भने।
कार्यक्रममा मेडिकल क्षेत्रको प्रवेशपरीक्षा तयारी संस्था ‘नेम’का सञ्चालक डा. नविन शर्मा र वरिष्ठ न्यूरो सर्जन डा. सागर कोइरालाले पनि विद्यार्थीहरूलाई विषय छनोटमा विशेष ध्यान दिन सुझाए। उनीहरूले भविष्यलाई बुझेर बेलैमा सही विषय चयन गर्नुपर्नेमा जोड दिए।
विद्यालयका प्राचार्य डा. नारायण बरालले अबको पुस्ताले सफल र असल नागरिक बन्ने लक्ष्य लिएर अघि बढ्नुपर्ने बताए। त्यसैगरी, प्लस टु इन्चार्ज नारायण आचार्य र निर्देशक डा. त्रिभुवन शर्माले विद्यार्थीका लागि आगामी दुई वर्षको मेहनतले भविष्य उज्ज्वल बनाउने बताउँदै सबै विषयको उत्तिकै महत्त्व रहेको धारणा राखे।
नवआगन्तुक विद्यार्थीका लागि आयोजित स्वागत तथा उत्प्रेरणामूलक उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक प्रस्तुति पनि दिएका थिए।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्