काठमाडौं, ८ साउन । प्रेस सेन्टर नेपालका सचिव सन्तोष देउजाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तेजोबोध गर्न उद्दत हुनेहरूप्रति कडा आक्रोश पोखेका छन्।
उनले भनेका छन्, “झन्डै ७१ वर्षको उमेरमा पनि प्रचण्ड पार्टी विस्तारको अभियानमा बिहानदेखि रातिसम्म तराई–मधेशमा हात जोड्दै जनताको घरदैलोमा छन्। तर केही नेताहरू भने न पार्टी विस्तारमा रुचि देखाउँछन्, न संगठन सुदृढीकरणमा। काठमाडौंमै थचारिएर गुटबन्दीमा रमाएका छन्।”
सचिव देउजाले नाम नलिए पनि माओवादीका वरिष्ठ नेता जनार्दन शर्मातर्फ संकेत गर्दै भने, “मध्य पहाडी लोकमार्गको अभियानमा एक दिन रुकुममा देखिए, त्यसपछि गायब। विद्यार्थी निर्वाचनमा २/४ जना आफ्ना उम्मेदवार जित्दा सामाजिक सञ्जालभरि बधाई र रात्रीभोज तर प्रेस सेन्टरको चुनावमा चुप्पी किन?”
उनले प्रेस सेन्टरको हालैको चुनावमा आफ्नो पक्षका उम्मेदवार पराजित भएको कारणले बधाई नदिएको आरोप लगाए।
देउजाले भारत–पाकिस्तान द्वन्द्वका बेला पार्टीको आधिकारिक धारणा आउन नपाउँदै भारतको पक्षमा अनावश्यक टिप्पणी गर्नेहरू, चीनको सहयोगमा एमाले नेता भीम रावललाई उठाउने रणनीतिप्रति मौन बस्नेहरू तथा हाल भारतको बुई चढेर चञ्चल हुनेहरूलाई पनि आलोचना गरे।
पूर्व माओवादी कमाण्डर जनार्दन शर्माले पटकपटक मन्त्री भइकन पनि ‘तार काट्दै हात चाट्दै ब्याज खाने’ कार्य मात्र गरेको आरोप लगाउँदै देउजाले भने, “प्रचण्डले भने जनयुद्धको नेतृत्व गरे, १२ बुँदे सम्झौता, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संविधान निर्माण हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मको यात्रामा ऐतिहासिक भूमिका निर्वाह गरे।”
उनले अन्त्यमा भने, “प्रचण्ड विशाल पहाड हुन्। कुम ठोक्न आउनेहरू आफै उछिट्टिन्छन्। चेतना भया!”
उनको फेसबुक स्टाटस
https://www.facebook.com/share/p/19SCERa4b2/
झन्डै ७१ वर्षको उमेरका प्रचण्ड पार्टी बनाउन तराई मधेश जागरण अभियान भन्दै बिहानदेखी मध्यरातसम्म हात जोड्दै जनताको घर दैलोमा हुदा जनार्दन कमरेडलाई न पार्टी विस्तारको अभियान, न संगठन सुदृढीकरणको चासो। काठमाडौंमा थचारिए। गुठबन्दीमा रमाए।
मध्य पहाडी लोक मार्गको अभियानमा पनि रुकुम एकदिन झुर्लुक्क भए। त्यहाँबाट गायव।
विधार्थीको चुनावमा २/४ जना यसो आफ्नाहरुलाई के जिताएका थिए, सञ्जाल भरि बधाईका ओईरो र रात्रीभोजमा मस्त।
चुनाव त प्रेस सेन्टरको पनि भयो। न सामाजिक सञ्जालमा एउटा बधाईको पोष्ट, न शुभकामना।
किनकी त्यो चुनावमा उनले उचालेका मान्छे क्लिन स्विप भए।
भारत पाकिस्तानको द्वन्द्व बढ्यो, पार्टीले आधिकारिक धारणा ल्याउनु पहिले भारतलाई खुसी पार्न यिनैले अन्टसन्ट लेखे।
हिजो चीनले उचालेर एमालेबाट भिम रावललाई त्यो हालतमा पुर्यायो। अहिले भारतको बुई चढ्न पाएर बुरुक्क गर्दैछन् यिनी ।
यिनका हर्कत हामीले पनि हेर्दै र बुझ्दै आएका छौं।
हिजो युद्धको कमाण्डर भए बापत पटक पटक मन्त्री बनेर तार काट्दै हात चाट्दै ब्याज खाईसक्नुभयो कमरेड।
प्रचण्ड त्यो नेतृत्व हो, जसले २०४६ पछि माओवादीलाई एक बनाए,
२०५२ मा जनयुद्धको नेतृत्व गरे, १२ बुँदे सम्झौतामा हस्ताक्षर गरे,
बिस्तृत शान्ति सम्झौता, संविधानसभा, संविधान निर्माण र
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरे।
३६ वर्षको पार्टी राजनितिमा उनले र्याल काढेर, लामखुट्टे धपाएर आएका होईनन।
अरुले झै सिंहदरवारमा प्रधानमन्त्रीको रुपमा फोटो मात्रै टाँसेर आएनन।
हिजो अवसरै अवसरमा सिंगेरी खेल्न पाउदा प्रचण्ड पथ जिन्दावाद, अहिले सबैलाई समेटेर लैजान खोज्दा घुर्की र धम्की?
प्रचण्ड बिशाल पहाड हुन्, कुम ठोक्न आउनेहरु आफै उछिट्टिने हुन्। चेतना भया।