Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

नेकपा माओवादी केन्द्र कास्कीको जिल्ला समन्वय समिति बैठक सम्पन्न: सांगठनिक पुनर्जागरणतर्फ सशक्त निर्णयहरू

भिजिटर संख्या लोड हुदैछ...

पोखरा, ९ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कास्की जिल्ला समन्वय समितिको बैठक पोखरामा सम्पन्न भएको छ। पार्टी केन्द्रीय सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यमा तथा जिल्ला समन्वय समिति संयोजक विश्वप्रकाश लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले संगठन सुदृढीकरण, संरचना विकास तथा कार्यदिशा निर्माणमा केन्द्रित महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकका मुख्य एजेन्डाहरू निम्नानुसार रहेका छन्:

नेताहरूको कार्यविभाजन स्पष्ट गर्दै प्रदेश तथा जिल्लास्तरमा मनोनयनका लागि सदस्य छनोटको विषयमा छलफल

पार्टी स्कुलिङ प्रणालीलाई व्यवस्थित र नियमित बनाउने

वार्षिक पार्टी क्यालेन्डर निर्माण गरी त्यसअनुसारका कार्यक्रमहरू सञ्चालन गर्ने

प्रत्येक पालिका र जिल्लामा पार्टी कोष स्थापना गर्ने

जिल्ला पार्टी कार्यालय भवनलाई संस्थागत ढंगले सञ्चालन गर्ने

प्रमुख अतिथि हरिराज अधिकारीले माओवादी आन्दोलनको मूल नीति र नेतृत्वप्रति दृढता कायम राख्नुपर्ने आवश्यकता औँल्याउँदै, पार्टीलाई कमजोर बनाउने निन्दात्मक प्रवृत्तिको खारेजी गर्नुपर्ने बताए। उनका अनुसार कास्की माओवादी अब एकमतसहित नयाँ शिराबाट उठ्ने चरणमा प्रवेश गरिसकेको कुरा बताए।

जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले पार्टी २०६४ सालको गौरवशाली लयमा फर्किने दिशामा रहेको भन्दै संगठन एक ढिक्का बन्दै गएको धारणा राखे।

संविधानसभा सदस्य तथा माओबादी केन्द्का केस राजकाजी गुरुङले विगतको संक्षिप्त समीक्षा गर्दै सामूहिक र संगठित ढंगले पार्टी निर्माणमा अग्रसर हुनुपर्ने बताए।

गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले कास्कीमा देखिँदै आएको विभाजित मानसिकताको क्रमश: अन्त्य हुँदै गएको र पार्टी अब एकताको मार्गमा अघि बढिरहेको बताइन्।

पूर्व अर्थमन्त्री तथा केन्द्रीय सदस्य रामजी बराल ‘जीवन’ ले संगठन चलाउँदा कार्यकर्ताहरूको मनोविज्ञानलाई सम्बोधन गर्नुपर्ने बताउँदै, सक्रिय र चलायमान संगठन निर्माणमा सबैको ध्यान जानुपर्ने विचार राखे।

पार्टी केस दीपक कोइरालाले चुनावमा व्यक्तिमुखी होइन, पार्टी निर्माण केन्द्रित दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रमको सञ्चालन कास्की जिल्ला सचिव तथा लोकप्रिय युवा नेता बिनय थापाले गरेका थिए। उनले अब पार्टी निर्माण सम्भव रहेको र आशा, सम्भावनाको मार्गमा अघि बढ्नुपर्ने स्पष्ट गर्दै पूर्ण आशावादी धारणा प्रस्तुत गरेका थिए।

बैठकले लिएका निर्णयहरू कास्की माओवादी संगठनको सुदृढीकरण, अनुशासन र स्पष्ट दिशा निर्धारणमा प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्