Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

माओवादी केन्द्रको प्रेस नोट : प्रचण्ड र परिवारविरुद्धको भ्रामक प्रचारप्रति कडा आपत्ति

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गर्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा प्रसारित भ्रामक सामग्रीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संयोजक प्रचण्डको सचिवालयले आइतबार जारी गरेको प्रेस नोटमा संवेदनशील परिस्थितिमा नियोजित ढङ्गले पार्टी नेतृत्वविरुद्ध गरिएका तथ्यहीन र चरित्रहत्या गर्ने सामग्रीहरूको कडा शब्दमा भर्त्सना गरिएको छ।

प्रेस नोटमा भनिएको छ, “विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्ने संविधान र पत्रकार आचारसंहिताले अरूको मानमर्दन र चरित्रहत्या गर्न नदिने व्यवस्था गरेको स्पष्ट छ। तर पछिल्ला सामग्रीहरूमा कानुनी र नैतिक मापदण्डको अवमूल्यन गर्दै एकतर्फी, पूर्वाग्रही र प्रायोजित विवरणहरू प्रस्तुत गरिएको छ, जुन गम्भीर र आपत्तिजनक छ।”

सचिवालयले संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलन अघि दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता आरोपको प्रमाण देखाउन चुनौती दिएको छ। त्यसैगरी, गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबी पनि निराधार रहेको स्पष्ट गरिएको छ।

प्रेस नोटमा भनिएको छ, “डिजिटल माध्यममार्फत गरिएको यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको छ।”

सचिवालयले भविष्यमा यस्ता दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्षमाथि रहने चेतावनी दिंदै, आम जनसमुदायलाई भ्रामक कुप्रचारको भ्रममा नपर्न आग्रह गरेको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्