Skip to content
Janadisha Logo
५ बैशाख २०८३, शनिबार

लेनिन जयन्ती तथा नेकपा स्थापनाको अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना सन्देश

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं, बैशाख ९ गते। नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान् क्रान्तिकारी नेता भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती र नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ऐतिहासिक अवसरमा सम्पूर्ण न्याय, समानता र स्वतन्त्रताका पक्षधर जनसमुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ।

अध्यक्ष दाहालले शुभकामना सन्देशमार्फत विश्व सर्वहारा वर्गका नेता लेनिनको योगदानको स्मरण गर्दै वर्तमान विश्वमा उहाँको विचार झन सान्दर्भिक बनेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “महान् लेनिनले श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्य स्थापना गरी न्यायपूर्ण समाज सम्भव छ भन्ने प्रमाणित गर्नुभयो।”

सन्देशमा इतिहासका विभिन्न कालखण्डमा भएका क्रान्ति र आन्दोलनमा बलिदान दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, मानव जातिको मुक्तिको लागि लेनिनको सिद्धान्त र नेपाली जनताको बलिदानको सम्मान गर्न आवश्यक रहेको उल्लेख छ।

नेपालमा वि.सं. २००६ सालमा सुरु भएको कम्युनिस्ट आन्दोलनले आजसम्म ल्याएको परिवर्तनको उल्लेख गर्दै, अध्यक्ष दाहालले वर्तमानमा केही प्रतिगमनकारी शक्तिहरूले प्राप्त उपलब्धिहरू खोस्ने प्रयास गरिरहेको चेतावनी दिनुभयो। उहाँले यस्ता शक्तिहरूको सपना कहिल्यै पूरा नहुने विश्वास व्यक्त गर्नुभयो।

“परिवर्तनका पक्षधरहरूका लागि इतिहासलाई सम्मान गर्दै समाजवादतर्फको यात्रालाई अघि बढाउनु आजको प्रमुख राष्ट्रिय जिम्मेवारी हो,” अध्यक्ष दाहालको सन्देशमा उल्लेख छ। साथै, उहाँले पार्टी कार्यकर्ता, शुभेच्छुक र न्यायप्रेमी जनतालाई लेनिनको विचार तथा नेपाली जनताको संघर्षको रक्षा गर्दै एकजुट भई समाजवाद निर्माणको दिशामा अघि बढ्न आह्वान गर्नुभएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्