Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

अविरल वर्षाका कारण देशभर ११ जनाको मृत्यु

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१२ असोज। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोकमा तीन, सिन्धुपाल्चोक, धनकुटा, र पाँचथरमा दुई–दुई र ललितपुर तथा झापामा एक–एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

हाल देशभर लगातार वर्षा जारी छ, जसका कारण पहिरो र बाढीको जोखिम उच्च छ। दिनभर वर्षा निरन्तर रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भए पनि बाँकी पाँच प्रदेशमा भारीदेखि अत्यधिक भारी वर्षा हुने सम्भावना छ। मौसमविद् विनु महर्जनका अनुसार लुम्बिनी प्रदेशका केही स्थानमा भने दिउँसो मौसम खुल्ने सम्भावना छ।

बिहीबार रातिदेखि देशभरका अधिकांश स्थानमा निरन्तर पानी परिरहेको छ। यसले गर्दा नदी तथा खोलामा बाढी आएको छ, काठमाडौं उपत्यका र तराईका भूभाग जलमग्न भएका छन्। लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ। चितवनमा गएराति २०४ मिलिमिटर वर्षा मापन गरिएको छ। काठमाडौंका नदी तथा खोलाहरूको जलस्तर खतराको बिन्दुमा पुगेको छ।

काठमाडौंमा शनिबार अपराह्न ५ बजेदेखि मौसममा क्रमिक सुधार आउने र आइतबार मध्याह्नदेखि देशभरको मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्