Skip to content
Janadisha Logo
९ भाद्र २०८३, मंगलवार

छिमेकी बचाउन जाँदा परिवार गुमाएका डुकुमानको पीडा

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,१७ असोज। ललितपुरको महांकाल गाउँपालिका–२ मानिखेल बेंसीका डुकुमान स्याङ्तानको जीवनमा अचानक आएको विपत्तिले मुलुकलाई स्तब्ध बनाएको छ। छिमेकीहरूलाई बाढीबाट बचाउन गएका डुकुमान आफ्नै परिवार गुमाउन बाध्य भएका छन्।
शुक्रबार राति परेको अविरल वर्षापछि आएको बाढीले डुकुमानको घरमाथिबाट पहिरो खस्दा उनका श्रीमती राममाया स्याङ्तान, जेठा छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षकी छोरी सलिनाको निधन भएको छ।
घरभन्दा पचास मिटर तल रहेका ७ घरमा बाढी पसेको देखेर डुकुमान छिमेकीहरूको उद्धारमा गएका थिए। ती घरका मानिसलाई सुरक्षित स्थानमा ल्याइसकेपछि फर्कंदा उनको घर पहिरोले पुरिएको थियो।
पहिरोले पुरिएका परिवारका सदस्यहरूलाई खोजी कार्यमा जुटेका स्थानीयवासीले भर्‍याङमुनि चारैजनालाई एकै ठाउँमा थिचिएको अवस्थामा फेला पारेका थिए। श्रीमती राममायाले उद्धारका लागि हात उठाएको अवस्थामा भेटिनुले घटनाको पीडा झनै बढाएको छ।
तीन वर्ष वैदेशिक रोजगारीबाट फर्किएका डुकुमान परिवारका एक मात्र सदस्य बचेका छन्। यस घटनाले समाजमा ठूलो सन्नाटा छाएको छ भने डुकुमानको पीडालाई सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने महसुस गरिएको छ।

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्