Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

म्याग्दीमा अकबरे खुर्सानी खेतीबाट किसानलाई मनग्य आम्दानी

भिजिटर संख्या लोड हुदैछ...

म्याग्दी,२२ असोज। म्याग्दीको भकिम्लीमा अकबरे खुर्सानी खेतीबाट किसानहरूले मनग्य आम्दानी गर्न थालेका छन्। गङ्गा पशुपक्षी तथा फलफूल कृषि फार्मका सञ्चालक खिमबहादुर आले मगरले सात रोपनी जमिनमा लगाएको अकबरे खुर्सानीबाट सात सय किलोग्राम उत्पादन गरी एक लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको बताए।
“परम्परागत अन्नबालीको तुलनामा खुर्सानीखेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिन्छ,” आलेले भने, “बेनीमा प्रतिकिलो २५० रुपैयाँमा खुर्सानी बिक्री भइरहेको छ।”
आले मात्र होइन, बेलढुंगा कृषक समूह, चिनाखेतका दीपक पुन, दिवस घर्ती लगायतका किसानले पनि व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिरहेका छन्। बेलढुंगा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका लागि गरेको अकबरे खुर्सानी खेती सफल भएपछि व्यावसायिक खेती थालेको बताए।
उच्च पहाडी क्षेत्रका लागि उपयुक्त
दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानलाई तरकारी खेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको बताए।
बसाइँसराइ रोक्ने उपाय
१९ जना किसानले पाँच/पाँच लाखका दरले लगानी गरेर ३५ रोपनी जग्गा भाडामा लिएर बसाइँसराइसँगै बाँझिएको खेतबारीमा खनजोत गरी खुर्सानी, किबी, सुन्तला, आलुखेती र नर्सरी सञ्चालन गरेका छन्। यसले गर्दा भकिम्लीमा बसाइँसराइ रोक्न र युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

अकबरे खुर्सानीका फाइदाहरू

१.  नियमित यो खुर्सानीको सेवनले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन्छ ।

२.  श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ ।

३. भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ

४. पेटमा हुने ग्याष्टिक तथा अल्सर जस्ता रोगहरूबाट राहत पाउन सकिन्छ ।

५. माइग्रेनको समस्या समाधानका लागि यो खुर्सानी अति उत्तम मानिन्छ।

६. अकबरे खुर्सानी खानाले हाडजोर्नीमा हुने दुखाइलाई पनि केही कम गर्न  मदत गर्दछ ।

७. यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वास्थ्यकर कोलेस्ट्रोललाई नियमित गराउन मद्दत गर्छ ।

८. यो खुर्सानी हालेर पकाइएको खानेकुरामा कीटाणुरहित हुन्छ ।

९.  थकाई शरीरमा आलस्यता आएको समयमा यसको प्रयोग गरेमा शरीरमा स्फूर्ति आउँछ ।

१०. यसले पिसाब सम्बन्धी समस्या कम गराउन मदत गर्दछ ।

११. यसले रगतमा चिनीको मात्रा घटाउन वा सुगर रोगबाट बच्न मदत गर्दछ ।

१२. यसको नियमित सेवनले चिसोबाट हुने फ्लुलाई कम गर्न मदत गर्दछ ।

१४. यसले शरीरमा राता रक्त कोषको मात्रामा वृद्धि गर्दछ ।

१५. एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ।

अधिक खुर्सानी सेवनका बेफाइदाहरु

१. खुर्सानीको सेवन गर्दा कसैलाई मुखदेखि मलद्वारसम्म पूरा पाचन प्रणालीमा जलन हुनसक्छ ।

२. धेरै खुर्सानी खाँदा क्याप्साइसिनको मात्रा बढी हुन सक्छ र शरीरको तापक्रम बढ्न सक्छ । यस्तो बेलामा रक्तचाप उच्च हुन सक्छ ।

३. अत्यधिक खुर्सानी सेवनले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने र शौच गर्न गाह्राे हुने, पेट पोल्ने लगायतका समस्या हुन्छन् ।

साथै, खुर्सानीको सेवनले कतिपयलाई पसिना आउने, जिब्रो पोल्ने हुन सक्छ यस्ताे बेलामा बिचार पर्‍याउनु हाेला ।

 

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्