काठाडौं।नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की सचिवालय सदस्य गंगा दाहालले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गर्दै संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध “योजनाबद्ध प्रहार भइरहेको” आरोप लगाएकी छन्।
गंगाले लेखेकी छन् —
निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।
उनले आफूविरुद्ध भ्रामक सूचना सम्प्रेषण भइरहेको उल्लेख गर्दै, यस्तो अवस्थाले पार्टी नेतृत्व र संगठन दुवैलाई नकारात्मक प्रभाव पारिरहेको बताएकी छन्।
यद्यपि, गंगाले पार्टीप्रतिको निष्ठा र प्रतिबद्धता यथावत रहेको स्पष्ट गर्दै भनिन् —
म पार्टीकी जिम्मेवार कार्यकर्ता हुँ र आजीवन पार्टीमा क्रियाशील रहिरहनेछु। सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले दिएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु।

गंगाको यो कदम माओवादी केन्द्रभित्र आन्तरिक चासोको विषय बनेको छ। पछिल्लो समय प्रचण्ड परिवारमाथि केन्द्रित भ्रामक प्रचार र सामाजिक सञ्जालका आक्रामक टिप्पणीबीच आएको उनको राजीनामाले पार्टीभित्रको मनोवृत्ति र बाह्य प्रभावमाथि पनि प्रश्न उठाएको देखिन्छ।
 
			 
			 
			
 
								 
								 
								 
								