पोखरा, पुस ७। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रमुख नेता रामसिंह श्रीषले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनलाई “जनविरोधी षड्यन्त्र”को संज्ञा दिँदै त्यसको कडा बहिष्कार नगरे देश र जनताको भविष्य गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।
आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इशारामा सञ्चालन हुने निर्वाचन प्रक्रियाले दलाल, नोकरशाही पुँजीपति र सामन्तवादी शक्तिलाई सत्तामा टिकाइराख्ने काम मात्र गरिरहेको आरोप लगाए। “यस्ता चुनाव जनताको अधिकार खोस्ने औजार बनेका छन्,” उनले भने, “यसबाट राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाको कुनै समाधान सम्भव छैन।”
नेता श्रीषले विगतका सबै संसदीय निर्वाचनहरू जनताको पक्षमा असफल भइसकेको दाबी गर्दै अब पनि त्यही प्रक्रियाबाट परिवर्तनको आशा गर्नु आत्मघाती भ्रम भएको बताए। उनले निर्वाचन बहिष्कारलाई केवल नारामा सीमित नगरी शक्तिशाली जनआन्दोलनको रूप दिनुपर्नेमा जोड दिए।
उनका अनुसार वर्तमान राजनीतिक संकटको निकास भनेको साम्राज्यवाद तथा विस्तारवादविरोधी शक्तिहरूको सहभागितामा स्वतन्त्र स्वाधिन संयुक्त सरकार गठन र संघीय जनगणतन्त्रमा आधारित नयाँ संविधान निर्माण हो। “वैज्ञानिक समाजवादबाहेक अर्को विकल्प छैन,” उनले स्पष्ट पारे।
पत्रकार सम्मेलनमा पार्टी नेताहरूले मजदुर, किसान, युवा, बुद्धिजीवी तथा सम्पूर्ण देशभक्त र प्रगतिशील शक्तिलाई ‘साम्राज्यवादी चुनाव’ बहिष्कार गर्दै क्रान्तिकारी संघर्षमा उत्रिन आह्वान गरे।
सो कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सेक्रेटर कमरेड बिक्रमको अध्यक्षतामा भएको थियो भने संञ्चालन कमरेड आकाशले गरेका थिए।
