तेहरान। इरानले अमेरिका र इजरायलबाट भएको सैन्य आक्रमणको सामना गर्न आफूहरू जति लामो समय लागे पनि प्रतिरक्षा जारी राख्ने दृढता व्यक्त गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माल बाघेईले हालै चिनियाँ समाचार एजेन्सी सिन्हवासँगको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रवक्ता बाघेईका अनुसार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण अन्तर्राष्ट्रिय कानुनले कुनै पनि रूपमा उचित ठहर गर्न नसक्ने कार्य हो। “यो शान्ति भंग गर्ने कदम हो, र इरानी जनता आफ्नो प्रतिरक्षाका लागि जति समय लागे पनि अडिग रहनेछन्,” उनले भने।
गत फेब्रुअरी २८ मा इजारायल र अमेरिकाले संयुक्त रूपमा तेहेरान सहित इरानका विभिन्न शहरमा आक्रमण गरेको इरानी पक्षको दाबी छ। उक्त आक्रमणमा इरानका तत्कालीन सर्वोच्च नेता आयोतोल्ला अलि खामेनी सहित उच्च सैनिक अधिकारी र सर्वसाधारणको ज्यान गएको बताइएको छ। त्यसपछि इरानले प्रतिकारस्वरूप इजरायल र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा संरचनामाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण सुरु गरेको जनाएको छ।
बाघेईले इरानजस्तो “समृद्ध सभ्यता भएको राष्ट्र” कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट पारे। अन्यायपूर्ण युद्धको सामना गरिरहे पनि इरानी जनता इतिहासभरि अन्यायका विरुद्ध उभिँदै आएको उनले उल्लेख गरे।
उनले अमेरिकी अधिकारीहरूको अभिव्यक्तिलाई अविश्वसनीय भएको आरोप लगाए। “अमेरिकी प्रशासनका भनाइहरू स्थिर हुँदैनन्, उनीहरू बारम्बार आफ्नो भनाइ बदल्छन् र अन्तर्राष्ट्रिय मामिलामा परस्पर विरोधाभासी अभिव्यक्ति दिन्छन्,” उनले भने।
बाघेईका अनुसार यो युद्ध इरानले सुरु गरेको होइन। “यो अमेरिकाले रोजेको युद्ध हो। सम्भवतः इजरायलको गलत आकलनका कारण अमेरिका यस युद्धमा तानिएको हो, जसले इरानलाई सजिलै झुकाउन सकिन्छ भन्ने सोचेको थियो,” उनले बताए।
इरानको आणविक कार्यक्रमबारे बोल्दै उनले इरानको परमाणु गतिविधि पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गरे। अमेरिका र इजरायलले विगत तीन दशकदेखि “इरानको परमाणु कार्यक्रमलाई सैन्य रूपमा प्रयोग हुन सक्छ” भन्ने ठूलो भ्रम फैलाउँदै आएको उनको आरोप छ।
क्षेत्रीय सम्बन्धबारे उनले फारसको खाडी क्षेत्रका देशहरू तथा छिमेकी राष्ट्रहरूसँग इरानले सम्बन्ध सुदृढ गर्न चाहेको बताए। “यश क्षेत्रको सुरक्षा र स्थायित्व क्षेत्रीय देशहरूबीचको सहकार्यमा निर्भर हुन्छ,” उनले भने।
इरानले क्षेत्रका कुनै पनि राष्ट्रसँग शत्रुता नराखेको पनि उनले स्पष्ट पारे। अहिले अमेरिकाका सैन्य अड्डामाथि आक्रमण गर्नुको कारण भने ती अड्डाहरू इरान वरिपरि फैलिएका र अमेरिकाले इरानविरुद्ध सैन्य गतिविधि सञ्चालन गर्न प्रयोग गरिरहेको आरोप उनले लगाए।
बाघेईका अनुसार यस क्षेत्रका देशहरूले पनि अमेरिकी सैन्य उपस्थितिले शान्ति र स्थायित्व ल्याउन नसकेको तथ्य क्रमशः बुझ्दै गएका छन्।
उनले अमेरिका अन्तर्राष्ट्रिय व्यापारमा अवरोध सिर्जना गर्ने इतिहास भएको देश भएको आरोप पनि लगाए। विभिन्न देशमाथि एकतर्फी प्रतिबन्ध लगाउने नीतिका कारण अमेरिका क्रमशः “कानुनविहीन र उद्दण्ड शक्ति” बन्दै गएको र यसले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको उनले बताए।

