Skip to content
Janadisha Logo
२९ आश्विन २०८२, बुधबार

श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिशानायके (एकेडी) नयाँ राष्ट्रपति निर्वाचित

भिजिटर संख्या लोड हुदैछ...

काठमाडौं,७ असोज। श्रीलंकामा वामपन्थी नेता अनुरा कुमारा दिशानायके (एकेडी) नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । ७५ वर्षसम्म श्रीलंकाको शासन सत्ताको वरिपरि रहेकाहरुलाई पछि पार्दै दिशानायकेलाई राष्ट्रपति बन्न सफल भएका हुन् ।

उनलेे राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघेसहितलाई पराजित गर्दै निर्वाचित भएपछि श्रीलंकाली जनताको निर्णय २०२२ को विद्रोहको निरन्तरता भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

मत गणनाको सुरुवातदेखि नै अग्रता लिएका उनले अन्तिम गणना सकिंदा उनी ४२.३१ प्रतिशत मतका साथ पहिलो स्थानमा रहे । उनलाई पछ्याइरहेका प्रेमदासाले ३२.७६ प्रतिशत मत पाए । निवर्तमान राष्ट्रपति विक्रमासिंघेले मात्र १७.२७ प्रतिशत मत पाउँदा महिन्दा राजापाक्षेका छोरा नमलले जम्मा २.५७ प्रतिशत मत पाए ।

श्रीलंकामा राष्ट्रपति चुनिन ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएपछि निर्वाचन आयोगले दोस्रो चरणको मत गणना गर्ने भयो, जसमा दिशानायके र प्रेमदासा मात्र उम्मेदवार रहे । श्रीलंकाको इतिहासमा पहिलो पटक भएको दोस्रो चरणको मत गणनाबाट दिशानायके राष्ट्रपति निर्वाचित भएका छन् ।

आर्थिक संकट चुलिएपछि श्रीलंकामा सुरु भएको जनप्रदर्शनले दुई वर्षअघि श्रीलंकामा राजापाक्षे परिवारको शासन अन्त्य गरेको थियो । प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिनु परेको थियो भने उनका भाइ राष्ट्रपति गोटाबाया राजपाक्षे १४ जुलाई २०२२ मा देश छोडेर भाग्न बाध्य भएका थिए । त्यसपछि संसदले ६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमासिंघेलाई नयाँ राष्ट्रपति बनाएकाे थियाे ।

काे हुन् राष्ट्रपति निर्वाचित दिशानायके ?

ग्रामीण मध्यम वर्गीय परिवारमा जम्मिएका दिशानायकेले विज्ञानमा डिग्री हासिल गरेका छन् । उनी स्कुले जीवनबाट जेभीपी (जनता विमुक्ति पेरामुना) मा आवद्ध भएका थिए ।

जेभीपीले १९७१ र १९८० को दशकको अन्त्यमा श्रीलंकामा हिंसात्मक विद्रोह गरेको थियो । १९८८–१९८९ मा राष्ट्रपति जेआर जयवर्धने र आर प्रेमदासाको शासन सत्ता ढाल्न भन्दै गरेको विद्रोह श्रीलंकाको इतिहासमा सबभन्दा रक्तपातयुक्त थियो ।

विद्रोहीहरुले राजनीतिक विरोधी मात्र होइन, बुद्धिजीवी, कलाकार, ट्रेड युनियनमा आवद्ध भएकाहरुको समेत हत्या गर्‍यो । विद्रोह दबाउन सरकारले चलाएको कारबाहीमा पनि कम्तीमा ६० हजार मानिस मारिए । जेभीपीका संस्थापक रोहाना विजेविरा समेत कारबाहीमा मारिएका थिए ।

जेभीपी हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आएपछि दिशानायके पोलिटब्यूरो सदस्य बने । सन् २००० मा सांसद र २००४ मा छोटो समयका लागि मन्त्री समेत बने । २०१४ मा जब उनी जेभीपीको प्रमुख बने, त्यसयता उनले आफ्नो दललाई विगतको हिंसात्मक आन्दोलनबाट टाढा राख्न खोजेका छन् ।

२०१४ मे मा पार्टीको नेतृत्वमा आएपछि उनले पार्टीले विगतमा गरेको हिंसाप्रति माफी मागेका थिए । जेभीपीका कुनै नेताले हिंसाका लागि माफी मागेको त्यो नै अन्तिम पटक थियो । किनकि पार्टीकै केही नेता र वामपन्थीहरुले चर्को आलोचना गरेपछि दिशानायके विगतको विषयमा निकै सतर्क हुने गरेका छन् । उनले कैयौं पटक खेद व्यक्त गरेका छन्, माफी मागेका छैनन् ।

तस्बिर र सामग्री : एजेन्सी

भिजिटर संख्या लोड हुदैछ...

arrow प्रतिक्रिया दिनुहोस्